काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेले राष्ट्रिय सभामा राखेको ‘कुलिङ अफ पिरियड’ संशोधन प्रस्ताव फिर्ता नलिए गठबन्धनमा दरार आउन सक्ने चेतावनी दिएका छन्।
४३ औँ विपी स्मृति दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले प्रतिनिधि सभाबाट भएको गल्तीलाई सच्याउने र दोषीलाई कारबाही गर्ने उद्देश्यले सर्वसम्मत रूपमा छानबिन समिति गठन गरिएको स्मरण गराए।
तर, एमालेले राष्ट्रिय सभाबाट कुलिङ पिरियड हटाउने प्रयास गर्दै आएकोप्रति उनले आपत्ति जनाए। सो प्रयासले राजनीतिक ‘दुर्घटना’ निम्त्याउने चेतावनी दिए।
शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फरक धारणा र मतप्रति सम्मानजनक व्यवहार गर्न आग्रह गरे। उनले भने, “एउटै पार्टीभित्र पनि विभिन्न मत हुन्छन्, गठबन्धनमा त झन् फरक दृष्टिकोण हुन्छन्। यी फरक मतबाट साझा मत निकाल्नु अहिलेको आवश्यकता हो।”
महामन्त्री शर्माले राज्य व्यवस्था समितिबाट सर्वसम्मत रूपमा पारित भएको कुलिङ पिरियड सम्बन्धी निर्णयको अनुसरण गर्दै राष्ट्रिय सभाबाट पनि त्यसलाई सच्याइनुपर्नेमा जोड दिए।
उनले थप भने, “हामी सँगै हुँदा सहमति जनाउने तर राष्ट्रिय सभामा फरक प्रस्ताव ल्याएर त्यसलाई दुर्घटनातर्फ लैजाने प्रयास स्वाभाविक रूपमा समझदारीमा दरार ल्याउँछ।”
गठबन्धनको सफलता फरक मतहरूबीचको साझा समझदारीबाट मात्र सम्भव हुने उल्लेख गर्दै शर्माले प्रधानमन्त्री ओलीलाई गम्भीरतापूर्वक समस्या समाधानमा ध्यान दिन आग्रह गरे।
उनले गठबन्धनभित्र उत्पन्न समस्याको समाधान खोज्ने प्रमुख जिम्मेवारी प्रधानमन्त्रीकै रहेको स्पष्ट पारे।
