झापा – राजनीतिक शक्तिको आडमा लामो समयदेखि अवैध धन्दा चलाउँदै आएका बिर्तामोडका भानुभक्त खरेलको गोदामबाट लाखौँ मात्रामा औषधीजन्य लागूऔषध बरामद भएको छ। बिर्तामोड प्रहरीले यसलाई ठूलो उपलब्धिको रूपमा लिँदै आज बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
प्रहरीले बरामद गरेका औषधीजन्य लागुऔषधहरूमा ठूलो परिमाणमा प्रतिबन्धित पदार्थहरू रहेका छन्:
१. Tramadol Hydrochloride Capsules IP – १,०३,८०० क्याप्सुल
२. Tramadol Hydrochloride Injection – १८७० एम्पुल
३. Tramadol and Acetaminophen Tablets – ४०५० ट्याब्लेट
४. Dicyclomine HCL Tablets IP २० mg – ९७,००० ट्याब्लेट
५. Sildenafil Tablets IP १०० mg (ZENEGRA MT RED १००) – ८,९०० ट्याब्लेट
६. Combipack of mifepristone tablets IP & misoprospol Tablets IP (Termipil kits) – ७,६५० ट्याब्लेट
हिजो दिउँसो बिर्तामोड–५, लोटस होटल नजिकै विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीले यो सफलता हासिल गरेको हो। प्रहरीले बिर्तामोड–५ बस्ने ५० वर्षीय भानुभक्त खरेल र अर्जुनधारा–६ बस्ने २५ वर्षीय विनोद घिमिरेले सोही ठाउँ बस्ने मनकुमार सङ्ग्रौलाको घरमा कोठा भाडा लिई औषधीजन्य लागुऔषधहरू भण्डारण गरी राखेको अवस्थामा फेला पारेको थियो।
यस सम्बन्धमा इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराउनसाथ प्रहरी निरीक्षक सन्तोष राईको कमान्डमा थप टोली खटिएर ती औषधीजन्य लागुऔषध बरामद गरेको हो। प्रतिबन्धित औषधीसहित अर्जुनधारा–६ बस्ने घिमिरेलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ। मुख्य अभियुक्त भानुभक्त खरेल भने फरार रहेकाले उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
बरामद भएका लागुऔषध र संलग्न व्यक्तिको पहिचानले यस प्रकरणमा गम्भीर प्रश्नहरू खडा गरेको छ। भानुभक्त खरेल नेकपा (एमाले)का सक्रिय कार्यकर्ता तथा पार्टीनिकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ झापाका पदाधिकारीसमेत रहेको खुलेको छ। उनी बिर्तामोडकै धर्मकाँटा रोडमा ‘सनलाईट फर्मा’ नामक पसलबाट औषधीको थोक बिक्री गर्दै आएका छन्।
एक औषधी व्यवसायीका अनुसार, खरेलले औषधीको थोक बिक्रेताको आवरणमा वर्षौँदेखि सेटिङ मिलाएर लागुऔषधजन्य औषधीको कारोबार गर्दै आएका थिए। यो अवैध धन्दाबाट खरेलले करोडौँ रुपैयाँ कमाएको बुझिएको छ।
खरेललाई अझैसम्म प्रहरीले पक्राउ गरेको छैन। खरेलको खोजी कार्यलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ।
