झापा- झापाको बिर्तामोड नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको बुधबार एक कार्यक्रमका बीच प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेका छन्।
प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रका अनुसार ४ करोड ९९ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको यो भवनले नगरपालिकाको सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
सोही अवसरमा सभामुख घिमिरेले बिर्तामोड वडा नं. ७ का तीन जनालाई जग्गाधनी पुर्जा पनि वितरण गर्नुभएको छ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, वडाध्यक्षहरू लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै सभामुख घिमिरेले नवनिर्मित भवनबाट नागरिकलाई सहजै सेवा प्रदान गर्न सुझाव दिए।
सभामुख घिमिरेले भूमि सम्बन्धी ऐन बनाएर भूमिको समस्या समाधान गर्दै जानुपर्ने र यसका लागि कानुन जरुरी रहेको बताए।
