भद्रपुर (झापा)- जिल्लामा सुशासन, पारदर्शीता र जवाफदेहिताको अभिवृद्धि गर्न जिल्ला प्रशासन कार्यालय झापाले आज आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा जनताका गुनासालाई सम्बोधन गर्ने सरकारी कार्यालयका प्रमुखहरूले प्रतिबद्धता व्यक्त गरेका छन्।
सदरमुकाम चन्द्रगढीस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न कार्यक्रममा जिल्लाभित्रका प्रमुख सेवा प्रदायक सरकारी कार्यालय प्रमुखहरूले जनताका गुनासा यथासक्य चाँडो सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। कार्यक्रममा सहभागी स्थानीय नागरिक, सरोकारवाला र सेवाग्राहीले प्रशासनसँग प्रत्यक्ष संवाद गर्दै विभिन्न गम्भीर समस्या र गुनासो प्रस्तुत गरेका थिए।

सुनुवाइमा उठाइएका प्रमुख विषयमा लागुऔषध दुर्व्यसन तथा कारोबार, विर्तामोड–चन्द्रगढी सडक निर्माणमा भइरहेको ढिलाइ, मालपोत तथा नापी कार्यालयमा विचौलियाको बिगबिगी र कर्मचारीको भ्रष्ट्र मनोवृत्ति, गर्मी बढेपछि नियमित विद्युत् आपूर्तिमा अवरोध, चन्द्रगढी बजार क्षेत्रमा पार्किङ अव्यवस्था र किसानलाई मल, बीउ र उत्पादनको उचित मूल्य नपाउनुलगायत विषय रहेका थिए।
सुनुवाइका क्रममा उठेका सवालमा सम्बन्धित निकायका प्रमुखहरूले प्रत्यक्ष जवाफ दिएका थिए। उनीहरूले जनगुनासो गम्भीर भएको स्वीकार गर्दै आवश्यक सुधारका प्रतिबद्धता जनाएका छन्।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सेवा प्रवाहमा उत्तरदायी र पारदर्शीता कायम गर्न यस्तो सुनुवाइ कार्यक्रमले सहयोग पुग्ने उल्लेख गरे।
उनले नागरिकबाट उठेका सवालका आधारमा समस्याको समाधान खोजिने र जिल्लाका सबै सरकारी निकायलाई जवाफदेही बनाउने दिशामा प्रशासन प्रतिबद्ध रहेको स्पष्ट पारे।
कार्यक्रममा नागरिक समाज, व्यवसायी, स्थानीय जनता, पत्रकार र अन्य सरोकारवालाको सहभागिता रहेको थियो।
