झापा – प्रधानमन्त्री केपी शर्मा ओली दुई दिने कार्यक्रमका लागि आज झापा आइपुग्दै छन्। उनी आज र भोलि (असार २८ र २९ गते) झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ।
कार्यक्रम तालिकाअनुसार, प्रधानमन्त्री ओलीले आज बिहान साढे ११ बजे झापाको बुद्धशान्ति गाउँपालिकास्थित भागिरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गर्नेछन्।
आजै दिउँसो १ बजे इलामको माई नगरपालिकामा नगर अस्पताल उद्घाटन, सुकुम्बासीलाई धनीपुर्जा वितरण र खानेपानी आयोजनाको शिलान्यास कार्यक्रममा सहभागी हुनेछन्।
त्यसैगरी, आजै कनकाई नगरपालिकाको उद्योग वाणिज्य संघको हलमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री ओलीले सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने कार्यक्रम रहेको छ।
भोलि (असार २९ गते) प्रधानमन्त्री ओलीले दमकस्थित पूर्वपश्चिम राजमार्गको कृष्णमन्दिर खण्डबाट उत्तर मदनडाँगी ताराबारी डिपो सडकको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
भोलि बिहान साढे ११ बजे हुलाकी सडकको रतुवा खोलामा रहेको पुल उद्घाटन गर्ने कार्यक्रम पनि तय भएको छ। भोलि नै दिउँसो २ बजे प्रधानमन्त्री ओलीले बिर्तामोडको सिटी सेन्टरमा आयोजना हुने नेकपा एमालेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
