काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई राजनीतिसँग जोड्न नहुने बताएका छन्।
बिहीबार ‘नेसनल हाइ पर्फमेन्स सेन्टर एन्ड स्पोर्टस् साइन्स ल्याब’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले खेलकुदको विकासमा मात्र ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए।
नेपाल प्रिमियर लिग (एनपीएल) का विषयमा भइरहेको राजनीतिकरणप्रति असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्री ओलीले खेलकुद रोकिन नहुने स्पष्ट पारे। उनले भने, “सरकारमा राजनीतिक दल नै आउने हो। सरकारमा आएपछि जुन क्षेत्रको काम छ, त्यसको विकास गर्ने हो। कृषि हो भने कृषिको विकास हुनुपर्यो, उद्योग हो भने उद्योगको विकास हुनुपर्यो। त्यहाँ राजनीतिक गर्नुभएन।”
खेलकुदको सन्दर्भमा पनि यही सिद्धान्त लागू हुने बताउँदै प्रधानमन्त्री ओलीले थपे, “खेलमा हो भने खेलको विकास गर्नुपर्छ। खेललाई अगाडि लैजानुपर्छ। त्यहाँ ‘पोलिटिक्स’ गर्ने होइन। पोलिटिक्सका लागि ‘देयर इज नो स्पेस’। जो आउँछ, उसले पोलिटिक्स गर्ने होइन, खेलमा ध्यान दिनुपर्यो।”
प्रधानमन्त्री ओलीले एनपीएलको भव्य तयारी हुनुपर्नेमा जोड दिए। उनले भने, “एनपीएलको भव्य तयारी गर्नुस्। यो हाम्रो नेशनल प्राइड हो। यसलाई राष्ट्रिय स्तरमा बढाउनुपर्छ। जसरी क्रिकेटको क्रेज बढेको छ, देशमा त्यसरी नै एनपीएललाई अगाडि लैजानुपर्छ। यसको आयोजना गर्नुस्। यो खेलिनुपर्छ।”
