काठमाडौँ – संयुक्त राज्य अमेरिकाले इरानको आणविक परियोजनामा हमला गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ अकाउन्टमा पोस्ट लेख्दै अमेरिकाले इरानी आणविक भट्टीहरू फर्दो, नतान्ज र इस्फाहानमा बम खसालेको जानकारी दिएका हुन्।
राष्ट्रपति ट्रम्पले सबै आक्रमण सफल भएको र अमेरिकी बमवर्षक विमानहरू सुरक्षित घर फर्किएको बताएका छन्। “हाम्रा बहादुर अमेरिकन योद्धाहरूलाई बधाई छ,” ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि अमेरिकी बमवर्षक विमानले इरानका तीन आणविक परियोजनामा हमला गरेको उल्लेख गरेका छन्।
यो हमला इजरायलले इरानविरुद्धको कारबाहीमा सहयोगका लागि अमेरिकालाई आग्रह गरेपछि भएको हो। इरानले जमिनमुनि बनाएका आणविक केन्द्रहरू ध्वस्त पार्ने हतियार अमेरिकासँग मात्र रहेको बताइन्छ।
यसअघि अमेरिकाले इरानलाई आणविक कार्यक्रम सम्बन्धी वार्ता र सहमतिमा आउनका लागि दुई साताको समय दिएको थियो।
यद्यपि, समयअगावै अमेरिकाले इरानमाथि हमला गरेको हो। इरानले यसअघि नै अमेरिका इजरायलसँग मिलेर हमला गरे मध्यपूर्वमा रहेका आफ्ना सैन्य संरचनामा जवाफी हमला गर्ने चेतावनी दिएको थियो।
