झापा– किसानका समस्यालाई सरकारले बेवास्ता गरेको भन्दै झापामा किसान आन्दोलन चर्किएको छ। प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्र झापा-५ बाट गौरादहका किसानहरूले करिब एक महिनाअघि चक्काजामबाट सुरु गरेको आन्दोलनलाई बिहीबार दिउँसै राँके जुलुसमा परिणत भएको हो।
किसान संघर्ष समिति झापाको अगुवाइमा गौरादह नगरपालिकातर्फ अगाडि बढेको राँके जुलुसलाई प्रहरीले रोक्न खोज्दा झडप भएको छ। प्रहरीले आन्दोलनकारीको हातबाट राँको र पुल्ठो खोसेर निभाएको थियो।
त्यसपछि र्याली गौरादह नगरपालिकाको गेटमा पुगेर भित्र पस्न खोज्दा प्रहरीसँग धकेलाधकेल भयो। यस क्रममा किसान संघर्ष समितिका अध्यक्ष इन्द्रप्रसाद पोखरेलको कमिज च्यातिएको छ। किसानहरूले प्रहरी दमनको घोर आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेका छन्।
आन्दोलनकारी किसानहरूले गौरादह नगरपालिकाको गेट अगाडि धर्ना दिएर कोणसभा गरे। उनीहरूले १५ बुँदे मागसहितको ब्यानर गौरादहका नगर प्रमुख छत्रपति सुवेदी र उपप्रमुख जलवर्षा राजवंशीलाई हस्तान्तरण गरे।
किसानहरूले आफ्ना मागहरू छिटोभन्दा छिटो पूरा गर्नुपर्ने र यदि मागहरू पूरा नभए अझ कडा संघर्षका कार्यक्रमहरू सार्वजनिक गर्ने चेतावनी दिएका छन्।

किसानका १५ बुँदे मागहरू:
चरणबद्ध आन्दोलनमा रहेका किसानहरूले यसअघि दुई पटक चक्काजाम गरेका थिए भने राति आ–आफ्नो घर अगाडि राँको बाल्ने र ब्ल्याक आउट गर्ने कार्यक्रमसमेत गरेका थिए। उनीहरूले मुख्य गरी निम्न १५ बुँदे मागहरू राखेका छन्:
१. उत्पादनमा अनुदान कार्यक्रमको क्षेत्र विस्तार र बजेट व्यवस्थापन सुनिश्चितता हुनुपर्ने।
२. सरकारले तोकेको खाद्यान्नको उचित मूल्य पाउनुपर्ने।
३. रासायनिक मल, खादको उचित व्यवस्था हुनुपर्ने।
४. कृषि, पशुपन्छी, मत्स्य, मौरी खेती र बालीको निःशुल्क बिमा गर्नुपर्ने।
५. कृषि ऋणको वातावरण सहज हुनुपर्ने।
६. व्यावसायिक उद्यमी कृषकहरूलाई कृषि यन्त्र उपकरण वितरण गर्नुपर्ने।
७. कृषि सिँचाइ महसुल पूरै छुट हुनुपर्ने।
८. सबै वडामा कृषि विज्ञ प्राविधिक नियुक्त गरिनुपर्ने।
९. भाडामा चल्ने कम्बाइन हार्भेस्टरको दर रेटमा एकरूपता हुनुपर्ने।
१०. अनुदानको नाममा किसानहरूबाट रकम उठाउने धन्दा बन्द गरिनुपर्ने।
११. कृषि औजार खरिद गर्न भन्सार छुटको सिफारिसको व्यवस्था गरी खुल्ला बजारको व्यवस्था गरिनुपर्ने।
१२. कृषकहरूलाई नयाँ सीप विकासका लागि अध्ययन अवलोकन भ्रमणका लागि रु. ५ लाख बजेट विनियोजन गरिनुपर्ने।
१३. मालपोतको दर रेटमा पुनर्विचार गरिनुपर्ने।
१४. कृषि उपयोग बजारको मूल्यवृद्धि रोकथाम गर्नुपर्ने।
१५. वडास्तरीय कृषक समूहमार्फत कृषकहरूका लागि बजेट र कार्यक्रमहरू ल्याइनुपर्ने।
संघर्ष समितिका अध्यक्ष पोखरेल र प्रवक्ता खेमराज अधिकारीको अगुवाइमा निकालिएको र्यालीमा गौरादह, कमल र गौरीगञ्जका करिब २०० किसानहरूको सहभागिता रहेको थियो।
