झापा- झापाको दुई दिनको बसाई सकेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर फर्केकी छन् । झापाको औपचारिक दुई वटा कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भई भण्डारी आइतबार अपराह्न विराटनगर फर्केकी हुन् ।
शुक्रवार साँझ विराटनगर हुँदै बिर्तामोड आएकी पूर्व राष्ट्रपति दुई दिन सिद्धार्थ होटलमा रहिन् । झापामा एमाले नेता एवम् झापा क्षेत्र नं. ४ का सांसद एलपी साँवा लिम्बू लगायतको नेतृत्वमा सञ्चालित सौर्य उर्जा परियोजनाको अवलोकन गरेर आइतबार उनी विराटनगर फर्केकी हुन् । सौर्य उर्जाका बारेमा सांसद लिम्बूले जानकारी गराएका थिए ।
शिवसताक्षी– ४ मा सञ्चालित झापा इनर्जीको अवलोकन गर्दै पूर्वराष्ट्रपतिको टोली हुलाकी मार्गबाट विराटनगर प्रस्थान गरेको मोरङका एमाले नेता सोमराज थापाले जानकारी दिए । कुन्जिबारीबाट गौरीगञ्ज हुँदै हुलाकी सडकसमेत हेर्ने गरी विराटनगर लागेको उनले बताए ।
पूर्वराष्ट्रपति भण्डारी बिर्तामोडमा नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको विज्ञान प्रदर्शनीमा शनिवार र आइतवार नारी सञ्चार गृहको पुस्तक विमोचन तथा अक्षयकोष घोषणा कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भएकी थिइन्।
