काठमाडौँ– यातायात व्यवसायीहरूले देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेसँगै आज (सोमबार) काठमाडौं उपत्यकासहित देशभरका आम नागरिकहरूले सास्ती व्यहोरेका छन्।
‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ को आह्वानमा सोमबार बिहानैदेखि सार्वजनिक यातायातका साधनहरू सडकमा नदेखिएपछि आम नागरिकको जनजीवन अस्तव्यस्त बनेको छ।
काठमाडौं उपत्यकामा छिटपुटमात्रै यातायात चलेको देखिन्छ, जसका कारण कार्यालय जानेदेखि अन्य कामको लागि सार्वजनिक यातायातको प्रयोग गर्ने यात्रुहरू सवारीसाधन कुरिरहेको देख्न सकिन्छ।
व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ को नाममा निजी प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गर्दै आन्दोलन सुरु गरेका हुन्।
यातायात व्यवसायीहरूले यसअघि नै सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाई समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि सोमबारदेखि सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरेको बताएका थिए।
यस बन्दले देशभरको सार्वजनिक यातायात सेवा प्रभावित भएको छ।
