दमक— गएराति परेको अविरल वर्षासँगै आएको हावाहुरीले झापाको विभिन्न स्थानमा विभिन्न भौतिक संरचनामा क्षति पुर्याएको छ।
दमक नगरपालिका–९ मा रहेको तुलसी बहुमुखी सहकारी संस्था अगाडि पार्किङ गरिएको बोलेरो गाडी (ना. १ ज २०३०) को अगाडिको सिसा फुटेर गम्भीर क्षति पुगेको छ।
सोही संस्थाको अगाडिको भवनमा राखिएको सम्पूर्ण सिसा पनि हावाहुरीले फुटाएको जनाइएको छ। हावाले सहकारी भवनको छानामा जडान गरिएको ट्रस समेत उडाएर नजिकैको “दाजुभाइ किराना पसल”मा खस्दा पसलको छाना भत्किएको छ।
यसबीच, दमक नगरपालिका–४ अडियामलबाट आम्दा अस्पतालतर्फ जाने भित्री सडक खण्डमा रहेका सातवटा बिजुलीका पोल ढल्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। पोल ढल्दा विद्युत सेवा समेत अवरुद्ध भएको हो।



Facebook Comments Box
