काठमाण्डौं । संविधान संशोधन प्रस्तावको विरोध गर्दै आएका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित नौ राजनीतिक दलले आज राजधानीमा बृहत प्रदर्शन गर्ने भएका छन् । सरकारले संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने माग राखेर आयोजना गरिएको प्रर्दशनमा ऐतिहासिक जनसहभागिता हुने आयोजकको दाबी छ ।

संशोधन प्रस्तावलाई प्रक्रियामा लैजान नदिन सदन अवरुद्ध पार्दै आएका नौ राजनीतिक दलले सडकबाट दबाब दिन जनप्रर्दशन आयोजना गरेका हुन् । प्रदर्शनपछि हुने सभालाई नौवटै दलका प्रमुख नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्बोधन एक घन्टाभित्रै सक्ने व्यवस्था मिलाइएको छ । सभाअघि राजधानीका ४० स्थानबाट जुलुस निकालिने र जुलुस प्रर्दशनीमार्ग पुगेर सभामा परिणत हुने एमाले सचिव योगश भट्राईले जानकारी दिनुभयो ।
त्यसमा ३३ स्थानबाट एमालैकै जुलुस हुने र बाँकी ठाउँबाट अन्य राजनीतिक दलको जुलुस निष्कने बताइएको छ । साथै जनवर्गीय संगठन र सम्पर्क मञ्चहरुको छुट्टाछुट्टै जुलुस हुनेछ । विभिन्न स्थानबाट निस्केको जुलुस एक बजे रत्नपार्क पुगेर एकीकृत हुनेछ । जुलुस रत्नपार्क, भद्रकाली, सुन्धारा, न्युरोड, बागबजार, पुतलीसडक हुँदै पर्दशनीमार्ग पुग्नेछ । विपक्षी दलहरुले राष्ट्रिय सभा हल अगाडिको सडक कब्जा गरेर आम सभा गर्नेछन् ।
सरकारले पाँच नम्बर प्रदेशको सीमांकन हेरफेर, भाषा, नागरिकता तथा राष्ट्रिय सभा गठन विषयमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ ।