काठमाडौँ– नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरोध गर्नु ‘असंसदीय र अराजनीतिक व्यवहार’ भएको टिप्पणी गरेका छन्।
आज संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो टिप्पणी गरेका हुन्। उनले कर्मचारीहरूमाथि विगतमा पनि धेरै अध्ययन अनुसन्धान भएको उल्लेख गर्दै, अनुसन्धानको दायरमा रहेका कर्मचारीको विषयलाई जोडेर मन्त्रीको राजीनामा माग्नु उपयुक्त नहुने बताए।
बर्तौलाको भनाइ छ, “पटक पटक सरकारमा बसिसकेको प्रमुख प्रतिपक्षी दलबाट एउटा कुनै कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिन वा अनुसन्धानको प्रक्रियासँग जोडेर गृहमन्त्रीकै राजीनामा माग्ने र त्यसका लागि संसद अवरोध गर्ने जे खालको व्यवहार प्रदर्शन भयो यो असाध्यै असंसदीय, अराजनीतिक प्रक्रियाको संसदमा पुनरावृत्ति भयो। यो एकदमै दुःखद् कुरा छ।”
उनले कर्मचारीमाथि अनुसन्धान भइरहेको सन्दर्भमा मन्त्रीहरूलाई जवाफदेही बनाएर लैजाने प्रवृत्तिले एक दिनमा एक मन्त्रीले राजीनामा दिनुपर्ने अवस्था निर्माण हुने समेत बताए। बर्तौलाले प्रतिपक्षीले कर्मचारीको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा मागेर “धान काट्ने मुसा दोष पाउने भ्यागुताको प्रवृत्तिमा जान खोजेको” आरोप लगाए।
स्मरण रहोस्, गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले आजको सभा बैठकमा नाराबाजी गरेका थिए।
