फिक्कल (इलाम)– इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दूरीको केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। यो बेलिब्रिज जडानसँगै मेची करिडोरमा बर्खायाममा हुने यातायात अवरोधको समस्या समाधान हुने अपेक्षा गरिएको छ।
सडक डिभिजन कार्यालय इलामका सूचना अधिकारी इञ्जिनियर अर्जुन घिमिरेका अनुसार, इलाम नगरपालिका–९ गोलाखर्क र ११ सोयाक जोड्ने पुवाखोलामा ४८.६ मिटर (१६० फिट) लम्बाइको बेलिब्रिज जडान धमाधम भइरहेको छ। सङ्घीय सरकारको रु एक करोड ३५ लाखको लागतमा भइरहेको यो निर्माण कार्य जेठ मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
इञ्जिनियर घिमिरेले बेलिब्रिजको ७० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिँदै भने, “बेलिब्रिजको सबै सामान ल्याएर जडान सुरु भएको छ, समग्रमा लगभग ७० प्रतिशत काम सकिएको छ। अब ठेल्ने काम बाँकी छ, जोड्दै ठेल्दै गर्नुपर्ने भएकाले त्यसका लागि केही समय लाग्ने रहेछ।”
यस स्थानमा पहिलोपटक बेलिब्रिज निर्माण सुरु भएको हो। यसअघि पुल नहुँदा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए र मध्य बर्खामा यो सडक पूर्ण रूपमा बन्द हुने गरेको थियो।
बेलिब्रिज निर्माण सम्पन्न भएपछि बर्सातको समयमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका केही क्षेत्रमा सहज र नियमित यातायात सञ्चालन हुनेछ। यसले त्यस क्षेत्रमा सामान ढुवानी गर्न र यात्रुलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ।
मेची राजमार्गको वैकल्पिक सडकका रूपमा लिइएको यो सडक इलामदेखि विर्तामोडसम्म करिब ५० किलोमिटर दूरी पर्दछ। सडक डिभिजन प्रमुख इञ्जिनियर पवन भट्टराईका अनुसार, इलाम खण्डको माई नगरपालिका क्षेत्रमा १५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ।
बाँकी १७ किलोमिटर खण्डमध्ये १४ किलोमिटरमा ठेक्का लागेर निर्माण भइरहेको छ भने बाँकी रहेको भागमा समेत काम सुरु गर्ने प्रक्रिया अगाडि बढाइएको छ।
