काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ १५ गते राजधानी काठमाडौँलाई एमालेको नियन्त्रणमा राख्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।
आइतबार नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो निर्देशन दिएका हुन्। उनले वडाध्यक्षहरूलाई प्रशिक्षणमा ध्यान दिन र त्यसपछि जेठ १५ गतेको कार्यक्रममा पूर्ण रूपमा समर्पित हुन भनेका छन्।
ओलीले राजावादीहरू कुनै महान् उद्देश्यका लागि लडिरहेको नभइ अनावश्यक फुर्तिफार्ति मात्र देखाइरहेको टिप्पणी गर्दै खुलेर प्रतिवाद गर्नुपर्ने बताए। उनले राजावादीहरूले ‘राजा प्राणभन्दा प्यारो छ’ भनेर नाराबाजी गर्ने गरेको उल्लेख गर्दै प्रश्न गरे, “वीरेन्द्रलाई हत्या गरेर मार्दा कहाँ गएका थिए?”
ओलीले भने, “म साथीहरुलाई भन्न चाहन्छु, निर्देशन पछि आउला। १५ गतेका लागि यहाँबाट भोलि उठ्ने बित्तिकै तयारी थाल्नुस्। १५ गते के के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ। तपाईंहरू जस्तो जे गर्नुपर्छ तयारी अवस्थामा बस्नुहोला। जतिबेलासम्म प्रशिक्षण चल्छ प्रशिक्षणमा ध्यान दिनुस्। प्रशिक्षण सिद्धिएपछि १५ गतेमा ध्यान दिनुस्। १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौँमा नेकपा एमालेको नियन्त्रण हुनुपर्दछ। कुन संस्था अगाडि लाग्छ, कसले के आयोजना गर्छ त्यो कुरा छोडिदिनुस्।”
उनले राजावादीहरूले जनता र सरकार मौन बसेको अवस्थाको फाइदा उठाएकोसमेत टिप्पणी गरे।
