झापा— झापाको बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वनमा एउटा वयस्क जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ।
अन्दाजी ५५ वर्षको मकुना हात्तीलाई स्थानीयवासीले बुधबार बिहान जङ्गलभित्र मृत अवस्थामा देखेर वन कर्मचारीलाई खबर गरेका थिए।
डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले उक्त हात्ती धेरै पहिलेदेखि बिरामी रहेको जानकारी दिए। प्रकृति संरक्षण कोषबाट पशु चिकित्सक ल्याएर चार पटकसम्म उपचार गराइए पनि हात्तीलाई बचाउन नसकिएको श्रेष्ठले बताए। “हात्ती पहिल्यैदेखि बिरामी थियो,” उनले भने, “उपचार गरियो, बचाउन सकिएन।”
बिरामी भएर चरनमा जान नसकेपछि मेचीनगरका युवाहरूको संस्था रेपिड रेस्पोन्स टिम (आरआरटी) ले बन्दाकोभी, फूलकोभी, तरुललगायतका खाना जङ्गलमै लगेर खुवाउँदै आएको थियो।
वन्यजन्तु संरक्षण अभियन्ता शङ्कर लुइँटेलका अनुसार, उक्त रैथाने हात्तीलाई ‘घुमन्ते गज’ नामकरण गरिएको थियो। लुइँटेलले झापाको जङ्गलमा विचरण गर्दै आएका रैथाने हात्तीहरूलाई तिनीहरूको पहिचान र स्वभावको आधारमा विभिन्न नाम दिइँदै आएको बताए।
हात्तीको मृत्युपछि पोस्टमार्टम जाँचका लागि कोशीटप्पु वन्यजन्तु आरक्षबाट प्राविधिक टोली घटनास्थलमा आइपुगेको छ। मृत हात्तीलाई आजै खाल्डो खनेर पुरिने जनाइएको छ।
