काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालमा लोडसेडिङ हुने हल्ला निराधार रहेको बताएका छन्। उनले लोडसेडिङको चर्चा सामाजिक सञ्जालमा फैलिएको हल्ला मात्रै भएको दाबी गरेका हुन्।
बुधबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले बजारमा आएका हल्लाहरू सस्तो लोकप्रियताका लागि भएको बताए। उनले मर्मतसम्भारका लागि बाहेक अन्य कुनै पनि बहानामा लोडसेडिङ नहुने स्पष्ट पारे।
मन्त्री खड्काका अनुसार, बेलाबेलामा हुने विद्युत विच्छेद आजको मात्रै समस्या नभएर विगतका वर्षहरूमा पनि यस्तो अवस्था आएको थियो। उनले गत वर्ष पनि विभिन्न कारणले करिब ७०० घण्टासम्म विद्युत आपूर्तिमा समस्या आएको तथ्यांक प्रस्तुत गरे।
हावाहुरी, ठूला पोल ढल्नु, मानवीय त्रुटि, पानी तथा असिनाका कारण पनि विद्युत आपूर्तिमा अवरोध आउने गरेको उनले बताए।
मन्त्री खड्काले नेपालको विद्युत आयात घट्दै गएको र निर्यात बढ्दै गएको जानकारी दिए। “हामीले यो हिउँदमा १५०० मेगावाटसम्म विद्युत आयात गर्यौँ। आवश्यकताअनुसार ६००-७०० घट्दै आएर यहाँको विद्युत बढ्दै जाने, आयात घट्दै जाने अवस्थामा छ,” उनले भने, “अस्तिको दिनसम्म पनि हामी ३५० मेगावाट विद्युत आयात गरिरहेका थियौँ, तर आजको रेकर्डअनुसार १५० मेगावाट निर्यात गरेका छौँ।”
उनले नेपाललाई विद्युत पुगेर, उब्रिएर निर्यात गरिरहेको अवस्थामा लोडसेडिङको हल्ला सामाजिक सञ्जालमा मात्रै सीमित रहेको दोहोर्याए। मर्मतसम्भार बाहेक यस वर्ष लोडसेडिङको अवस्था नरहेको र आगामी वर्षहरूमा त झनै लोडसेडिङ नहुने उनको दाबी छ, किनभने नेपालमा विद्युत उत्पादन निरन्तर बढिरहेको छ।
मन्त्री खड्काले मुलुकको भविष्य विद्युत क्षेत्रमा रहेको भन्दै यस क्षेत्रको विकासमा सरकार प्रतिबद्ध रहेको बताए।
