झापा– झापाको हल्दिबारी गाउँपालिका अब काठेपुलमुक्त बन्ने अभियानमा निकै अघि बढेको छ। दुई वर्षअघि शिलान्यास गरिएका तीनवटा पुलमध्ये भुतेनी खोलामा बनेको पक्की पुलको आज उद्घाटन भएको छ। यो पुल निर्माणसँगै गाउँपालिकाको विकासमा महत्वपूर्ण कोसेढुङ्गा थपिएको छ।
हल्दिबारी गाउँपालिकाको वडा नम्बर ५ र १ लाई जोड्ने भुतेनी खोलाको यो पक्की पुलको लागत रु. २ करोड ३० लाख रहेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) का अनुसार, २०७९ कात्तिक ७ गते सम्झौता भएको यो पुल २ वर्षको निर्माण अवधिभन्दा ५ महिनाअघि नै सम्पन्न भएको हो। ४२.७ मिटर लामो र ७.२ मिटर चौडा यो पुल सारा सृष्टि निर्माण सेवा प्रा. लि. ले निर्माण गरेको हो।
झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले आज एक समारोहका बीच पुलको उद्घाटन गरे। उद्घाटनपछि बोल्दै सांसद लिङ्देनले सीमित स्रोतसाधनका बाबजुद हल्दिबारी गाउँपालिकाले आफ्नै लगानीमा यति ठूलो काम सम्पन्न गरेर जनप्रतिनिधि र कर्मचारीहरूको इमान्दारिताले विकास सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेकोमा खुसी व्यक्त गरे।
हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत वन, वडा नम्बर १ का वडा अध्यक्ष देवीबहादुर थापा, वडा नम्बर ५ का वडा अध्यक्ष खड्गबहादुर लावती, वडा नम्बर ४ का वडा अध्यक्ष सन्तकुमार थापालगायत कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू तथा स्थानीय बासिन्दाको उपस्थिति थियो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लिङ्देनले बजेटको सीमितताका बाबजुद पनि पालिका विकास निर्माणमा सधैँ अगाडि रहेको बताए। उनले ७ वर्षको अवधिमा १५० वटा काठेपुल र बाँसका पुल विस्थापित गरी पक्की पुल तथा कल्भर्ट निर्माण गरेको जानकारी दिँदै बाँकी रहेका कामहरू पनि गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।
भुसुडी खोलामा निर्माणाधीन अन्य दुईवटा पुलको काम पनि अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत वनले बताए। यी पुलहरू सम्पन्न भएपछि हल्दिबारी गाउँपालिकासँगै छिमेकी पालिकाका बासिन्दाहरू समेत लाभान्वित हुनेछन्।
