झापा— झापा जिल्लाको झापा गाउँपालिका–१ बाट भन्सार छली गरी ल्याइएको अवैध सामानसहितको एउटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान करिब ४:३० बजे शंका लागेर जाँच गर्दा नम्बर प्लेट नभएको उक्त ट्रयाक्टरबाट ५० बोरा काँक्राको बीउ फेला पारेको हो। प्रत्येक बोरामा ५० किलो तौल भएको सो बीउको अनुमानित मूल्य दुई लाख पचास हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
ट्रयाक्टरको अनुमानित मूल्य पाँच लाख रुपैयाँ रहेको र बरामद गरिएको सम्पूर्ण सामानको कुल मूल्य सात लाख पचास हजार रुपैयाँ बराबर पुग्ने प्रहरीले जानकारी दिएको छ।
प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) खगेन्द्र बहादुर खड्काका अनुसार, बरामद गरिएको ट्रयाक्टर र सामानलाई आवश्यक कानुनी कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको छ।
यद्यपि, घटनासँग सम्बन्धित ट्रयाक्टर चालक भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
