काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र उकुसमुकुसको अवस्था रहेको बताएका छन्।
सोमबार काठमाडौंमा सुवास घिमिरेद्वारा लिखित विपी कोइरालाको जीवन कथामा आधारित पुस्तक ‘सान्दाजु’को लोकार्पण समारोहलाई सम्बोधन गर्दै थापाले काँग्रेसभित्र अहिले उकुसमुकुस, गुनासो, असन्तुष्टि र छटपटाहट रहेको जिकिर गरे।
यद्यपि, उनले काँग्रेसमा एउटा अवसर पनि रहेको औंल्याए। थापाले काँग्रेस अहिले संघ, प्रदेश र स्थानीय तहको सरकारमा रहेको र अब बन्ने प्रधानमन्त्री पनि काँग्रेसकै हुने बताए। गभर्नर पनि काँग्रेसकै भागमा रहेको बेलामा पनि काँग्रेसीजनमा खुशी नरहेको उनको भनाइ थियो।
महामन्त्री थापाले भने, ‘अब हाम्रो जेनेरेशनको साथीहरुले एउटा संकल्प गर्ने बेला आएको छ। नेपाली काँग्रेस पार्टीभित्र अहिले एउटा खालको उकुसमुकुस छ। उकुसमुकुस छ, गुनासो छ, असन्तुष्टि छ, एउटा छटपटाहट देखिन्छ। तर म एउटा अवसर पनि छ भनिरहेको छु। नेपाली काँग्रेस पार्टीका सन्दर्भमा हामीले लामो समयदेखि टेक्निकल र ब्युरोकेटिक कुरा गर्यौं। चुनावको कुरा, चुनाव जित्नुपर्छ भन्यौं। को उम्मेदवार बन्ने कुरा गर्यौं। हामीले अहिले चुनाव जितेका छौं, नेपालको सबैभन्दा ठूलो पार्टी हो हामी अहिले। हामी सबैतिर सरकारमा छौं। हामी नभएको ठाउँ नै छैन। पालिकामा, वडामा, संघमा सरकार, प्रदेशमा सरकार। अहिले हामीले बनाएका प्रधानमन्त्री र अब हुनेवाला प्रधानमन्त्री पनि हाम्रो। अब सबै हाम्रो। अब गभर्नर हाम्रो, उ हाम्रो, जताततै हाम्रो। खुशी हुनुपर्ने नि त काँग्रेस त। सबै हाम्रो भएको बेलामा किन खुशी नभएको त? हामीले खोजेको त्यो होइन रहेछ।’
थापाले काँग्रेस नेपालको राष्ट्रिय शक्ति भएको बताउँदै नेपाली समाजमा पनि एक प्रकारको उकुसमुकुस रहेको जिकिर गरे। बाहिर आउने र जाने कुरा चलिरहने भन्दै उनले नेपाल बन्दैन भन्ने भाष्यप्रति चिन्तित हुनुपर्ने बताए। काँग्रेसलाई गनगन गर्ने र भाग्ने ठाउँ नरहेको उनको भनाइ थियो।
