झापा- कोशी प्रदेशका चार जना सांसद सवार कार सोमबार दिउँसो मोरङमा दुर्घटनामा परेको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कानेपोखरी गाउँपालिका–७ मा नेपाल प्रहरीका डीएसपीले चलाएको कारसँग ठोक्किएर सांसदहरू चढेको कार दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार विराटनगरबाट झापातर्फ आउँदै गरेको बा ५ च ३५३० नम्बरको कार र झापाबाट विराटनगरतर्फ जाँदै गरेको बी एई १४०६ नम्बरको कार दिउँसो २ बजेतिर एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा मानवीय क्षति भने भएको छैन र सबै जना सकुशल रहेका छन्।
बी एई १४०६ नम्बरको कारमा कोशी प्रदेशका सांसदहरू मैया श्रेष्ठ लावती (नेपाली कांग्रेस, पाँचथर), राधाकृष्ण खनाल (नेकपा एमाले, झापा क्षेत्र नम्बर ४(क)), नम्बरलाल धिमाल (नेकपा एमाले, झापा) र विद्या चाम्लिङ (नेकपा एकीकृत समाजवादी, मोरङ) सवार थिए। प्रहरीका अनुसार उनीहरू प्रदेशसभाको नीति तथा कार्यक्रम सार्वजनिक हुने बैठकमा सहभागी हुन विराटनगर जाँदै थिए।
उक्त कार झापाको दमक नगरपालिका–१ का ४० वर्षीय भेषराज श्रेष्ठले चलाइरहेका थिए र यो पाँचथरकी सांसद मैया श्रेष्ठ लावतीको रहेको प्रहरीले जनाएको छ।
यस्तै, बा ५ च ३५३० नम्बरको कार जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले चलाइरहेका थिए। उनी विराटनगरस्थित घरबाट कार्यक्षेत्र झापा फर्किंदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी निरीक्षक खगेन्द्र एक्तेनको नेतृत्वमा टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। डीएसपी जोशीका अनुसार दुर्घटनामा दुवै कारमा सामान्य क्षति पुगेको छ र थप अनुसन्धान भइरहेको छ।
