झापा- इलाका प्रहरी कार्यालय अनारमनीले मोटरसाइकल चोरीमा संलग्न एक गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेहरूमा बिर्तामोड–३ सैनिक मोड बस्ने दाजुभाइ रञ्जित राजवंशी, प्रदीप राजवंशी, कुमार राजवंशी तथा बिर्तामोड–४ परोपकार टोलमा डेरा गरी बस्ने ग्यारेज सञ्चालक जागिर आलम रहेका छन्।
प्रहरीका अनुसार राजवंशी दाजुभाइ चोरीमा संलग्न थिए भने आलम चोरीका मोटरसाइकल बिक्री गर्न सहयोग गर्थे। प्रहरीले उनीहरूको साथबाट मे १ ह ४८९६ नम्बरको एक अटो, मे ८ प २११६ नम्बरको एभेन्जर बाइक, प्रदेश १–०१–०१५ प ९२४२ नम्बरको सुपर स्प्लेन्डर बाइक र मे ९ प ३६१८ नम्बरको पल्सर बाइक बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले पत्रकार सम्मेलनमार्फत पक्राउ परेका व्यक्ति र बरामद भएका सवारी साधनबारे जानकारी दिए।
उनले सीसीटिभी फुटेजको आधारमा अनुसन्धान अगाडि बढाउँदा अटोसहित २६ वर्षीय प्रदिप राजवंशीलाई पहिलो पटक पक्राउ गरिएको बताए।
प्रहरीका अनुसार चोरीमा संलग्न एकजना भने अझै फरार रहेका छन्। पक्राउ परेका चारै जनालाई चोरी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
