झापा– झापा प्रहरीले करिब ३ करोड ६१ लाख रुपैयाँ बराबरको भन्सार छलीका सामग्रीसहित तीनवटा भारतीय नम्बरका कन्टेनरलाई नियन्त्रणमा लिएको छ।
बिर्तामोड नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा जेठ ४ गते साँझ करिब ७ बजे भारतबाट काँकरभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका कन्टेनरहरूलाई गोप्य सूचनाको आधारमा रोकेर जाँच गर्दा अवैध रूपमा भित्र्याइएका सामग्री फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक प्रविण श्रेष्ठका अनुसार नियन्त्रणमा लिइएका कन्टेनरहरूको नम्बर क्रमशः एनएल ०१ ए एच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ रहेका छन्। प्रहरीले बरामद सामग्रीको अनुमानित मूल्य ३ करोड ६१ लाख रुपैयाँ रहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले कन्टेनर र भन्सार छलीका सामग्री नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, इटहरी, सुनसरीमा पठाएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
