इलाम– नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा परराष्ट्र मन्त्रालयले नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख, विभिन्न अन्तर्राष्ट्रिय सङ्घसङ्गठनका प्रतिनिधि तथा राजदूतहरूका लागि विशेष ‘रिट्रिट’ कार्यक्रम आयोजना गर्यो। प्रायः वार्षिक रूपमा आयोजना हुने यो कार्यक्रम यसपटक पूर्वी नेपालको रमणीय इलामस्थित श्रीअन्तुमा सम्पन्न भएको थियो।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको नेतृत्वमा पुगेका १५ देशका राजदूत एवं मिसन प्रतिनिधि र विभिन्न अन्तर्राष्ट्रिय सङ्घसङ्गठनका प्रतिनिधिहरूले इलामका सुन्दर चिया बगानको भ्रमण गर्नुका साथै अन्तु डाँडाबाट नयाँ वर्षको पहिलो सूर्योदयको मनमोहक दृश्य अवलोकन गरे। कूटनीतिज्ञहरूले विभिन्न जातजातिका परम्परागत वेशभूषामा सजिएर तस्बिरहरू खिचाए भने कतिपयले कन्यामका विभिन्न स्थानमा घोडा चढ्दै मनोरञ्जन लिए।
नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यो कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड र इलामको सूर्योदय नगरपालिकाले सहयोग गरेका थिए। कार्यक्रममा कूटनीतिज्ञहरूका लागि चिया टिप्ने प्रतियोगिता र ताजा चियाको स्वाद लिने (टि टेस्टिङ) जस्ता आकर्षक गतिविधिहरू पनि समावेश थिए।
अन्तुको चिया बगानमा भएको चिया टिप्ने प्रतियोगितामा कूटनीतिज्ञहरूले उत्साहपूर्वक सहभागिता जनाए र सबैभन्दा बढी चिया टिप्नेले पुरस्कार पनि प्राप्त गरे। त्यसपछि चैत ३१ गते अपराह्न भएको टि टेस्टिङ कार्यक्रममा मन्त्री डा. राणासहित सबै कूटनीतिज्ञहरूले स्थानीय चियाको स्वाद लिँदै अनुभव आदानप्रदान गरे।
सूर्योदय नगरपालिकाको समन्वयमा भएको कार्यक्रममा स्थानीय चिया उद्यमीहरूको सक्रिय सहभागिता थियो, जसले विभिन्न प्रकारका ताजा चिया पाहुनाहरूलाई उपलब्ध गराएका थिए। स्थानीय जनप्रतिनिधि एवं उद्यमीहरूले परराष्ट्रमन्त्री डा. राणालाई नेपाली चियाको प्रवर्द्धन गर्न र अन्तर्राष्ट्रिय बजार विस्तारका लागि सहयोग गर्न आग्रह गरे।
यसैबीच, सरकारले सगरमाथा संवादको तयारी गरिरहेको सन्दर्भमा मन्त्री डा. राणाले उक्त संवाद कार्यक्रममा आउने विश्वका विभिन्न देश तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूका प्रतिनिधिलाई नेपाली अर्गानिक चियाको स्वाद चखाउन संवादस्थलमा टि टेस्टिङ समारोह राख्ने सुझाव दिइन्।
सोहीबमोजिम सूर्योदय नगरपालिकाको संयोजनमा सगरमाथा संवादस्थल होटल सोल्टीमा इलामको ताजा चियाको प्रदर्शनी कक्ष राखिएको छ, जहाँ विभिन्न उत्पादन र स्वादका चियाको स्वाद लिने व्यवस्था गरिएको इलामको टि स्टेशन इन्कका अध्यक्ष प्रज्वल प्रधानले बताए। उनका अनुसार प्रदर्शनी कक्षमा स्वदेशी तथा विदेशी पाहुनाहरूको आकर्षण रह्यो र यसले नेपाली चियाको विश्व बजारमा प्रवर्द्धनमा सहयोग पुगेको महसुस गरिएको छ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले नेपालको चियालाई विश्वमा प्रवर्द्धन गर्न बोर्डले सहजीकरण गरिरहेको जानकारी दिए। बोर्डले सगरमाथा संवादमा सहभागी विदेशी पाहुना र प्यानलिस्टहरूलाई इलामको अर्गानिक चिया उपहारसमेत प्रदान गरेको थियो।
