झापा– झापाको मेचीनगर नगरपालिका–१४ स्थित दुवागढी चोकमा आइतबार मध्याह्न टिपरको ठक्करबाट एक दम्पती गम्भीर घाइते भएका छन्।
दिउँसो १२ बजे दुवागढी चोकको मेची राजमार्गमा चारआलीबाट चन्द्रगढीतर्फ जाँदै गरेको स १ क १८१ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको प्र.१–०१–००१८प.००७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका–१३ बस्ने ५५ वर्षीय मनप्रसाद लिम्बू र पछाडि सवार उनकी श्रीमती अन्दाजी ५२ वर्षीया टिकाकुमारी श्रेष्ठ (लिम्बू) गम्भीर घाइते भएका छन्।
घाइते दम्पतीलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको छ। मनप्रसादको पिसाब थैलीमा गम्भीर चोट लागेको छ भने टिकाकुमारीको दुवै खुट्टामा चोट लागेको र दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि तत्काल फरार रहेका टिपर चालक गौरीगञ्ज–१ महाभारा बस्ने विजय सरदारलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ।
प्रहरीले मोटरसाइकल र टिपरलाई प्रहरी चौकी चारआलीको नियन्त्रणमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
