काठमाडौँ– नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले आगामी आर्थिक वर्षको बजेटमा आफूहरूले माग गरेको बजेट विनियोजन नभए अर्थमन्त्रीले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
शनिबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद तामाङले सातवटा जिल्लाका सांसदहरूका लागि तीन/तीन करोडका दरले २१ करोड बजेट माग गरिएको जानकारी दिए।
यदि उक्त मागबमोजिम बजेट विनियोजन नभए संसदमा प्रतिनिधित्व गर्ने सबै सांसदको सूची तयार पारेर छानबिनका लागि समिति बनाउन बाध्य हुने उनको भनाइ थियो।
बैठकमा देशका लागि कसरी राम्रो काम गर्न सकिन्छ भन्नेतर्फ पार्टी सभापतिको ध्यानाकर्षण गराएको जानकारी दिँदै उनले ऊर्जा मन्त्रालयमा ट्रान्सफर्मर पड्किएको उदाहरण दिँदै कुलमान घिसिङजस्ता व्यवस्थापन क्षमता भएको व्यक्ति पदमा हुनुपर्ने बताए।
उनले माओवादी अध्यक्षको ‘चकचके बानी’का कारण अहिलेको राजनीतिक समीकरण बनेको टिप्पणी पनि गरे।
यसैगरी, कांग्रेस सांसद हृदयराम थानीले विकास निर्माणमा अवरोध नगर्न सांसदहरूले नेतृत्वलाई सुझाव दिएको बताए। शनिबारको संसदीय दलको बैठकमा बजेट निर्माणमा पक्षपात नगरी ७७ वटै जिल्लामा समान रूपमा विकास कार्यक्रम लैजान सुझाव दिइएको उनले जानकारी दिए।
विगतमा बजेट निर्माणमा पक्षपात हुने गरेको भए पनि यसपटक नेतृत्वबाट त्यस्तो नहुने अपेक्षा गरिएको उनको भनाइ थियो। सांसद थानीले असन्तुष्टि नभइ राम्रो काम गर्न सुझाव दिइएको स्पष्ट पारे।
