झापा– मोरङ रतुवामाई नगरपालिकाका विभिन्न स्थानबाट प्रहरीले झापाका ७ सहित १३ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।
भारतबाट नेपालतर्फ लागुऔषध लिएर आउँदै गर्दा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर, इलाका प्रहरी कार्यालय सिजुवा र इलाका प्रहरी कार्यालय डोरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा मोरङ र झापाका विभिन्न ठेगाना भएका व्यक्तिहरू रहेका छन्, जसको साथबाट ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय सिजुवामा राखिएको छ।
यसैगरी, झापा र मोरङबाट लागुऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधिसहित थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। बिर्तामोडबाट ३३ मिलिग्राम ब्राउनसुगरसहित मोहमद अली, बुद्धशान्तिबाट ५८० मिलिग्राम ब्राउनसुगरसहित सागर खड्का र उर्लाबारीबाट १०० चक्की प्रतिबन्धित औषधिसहित विवेक खड्का पक्राउ परेका हुन्।
उता, मोरङको उर्लाबारीबाट लागूऔषधको कारोबार गरेको आरोपमा आमा र दुई छोरालाई पनि प्रहरीले पक्राउ गरेको छ। सुराकीको आधारमा उर्लाबारी–४ आइतवारेबाट ४९ वर्षीया लीलाकुमारी थारु र उनका छोराहरू २५ वर्षीय रञ्जित धामी थारु र २४ वर्षीय प्रवीन धामी थारुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रञ्जन बरालले जानकारी दिए।
उनीहरूको कोठा खानतलासी गर्दा ३८ वटा प्लाष्टिकको पोकामा राखिएको ७ ग्राम २० मिलिग्राम ब्राउनसुगर, बिनाप्लाष्टिक २ ग्राम ९ सय ६० मिलिग्राम ब्राउनसुगर, ६ थान मोबाइल फोन र नगद ५ लाख ५० हजार ५ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
यसरी मोरङ र झापामा लागुऔषध कारोबारमा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गरेको छ, जसमध्ये ७ जना झापाका रहेका छन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
