काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।
आइतवार साँझ सिंहदरबारमा भएको भेटवर्तामा संक्रमणकालीन न्याय र समसामयिक विषयमा छलफल भएको हो । छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भेटका क्रममा संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल भएको र संक्रमणकालीन न्यायको प्रक्रिया सकारात्मक रुपमा अघि बढिरहेको पाएको बताए ।
अध्यक्ष दाहालले संक्रमणकालीन न्याय टुंगो लगाउनेबारेमा भइरहेको प्रक्रियाका बारेमा जिज्ञासा राखेका थिए । जसमा संक्रमणकालीन न्याय टुंगो लगाउन भइरहेको प्रक्रियाको बारेमा प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई जानकारी गराएको उपमहासचिव पुनले बताए।
संक्रमणकालका पीडितहरूले प्रधानमन्त्री ओली, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवासँग आफ्ना सरोकारका विषयहरू राखेको र सोमवार अध्यक्ष दाहालसँग भेटेर छलफल गर्ने कार्यक्रम रहेको जानकारी दिए।
उपमहासचिव पुनले भने, ‘टिआरसीसम्बन्धी पीडित पक्ष र विभिन्न सरोकारवालाहरूले उठाएका र चर्चा भएका र त्यसबारेमा भइरहेका प्रक्रियाको बारेमा प्रधानमन्त्रीज्यूसँग प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले आज जिज्ञासाहरूमा छलफल भएको छ । प्रधानमन्त्रीज्यूले अहिले भइरहेका प्रक्रियाहरू, पीडितहरूले उहाँसँग उठाएका सरोकारका विषयहरू र नेपाली काँग्रेसका सभापतिज्यूसँग पनि भिक्टिमहरू गएर आफ्ना सरोकार राखेका रहेछन् । भोलि प्रमुख प्रतिपक्ष दलका नेता कमरेड प्रचण्डसँग समय लिनुभएको छ, छलफलका लागि । त्यही विषयहरूमा छलफल भयो । यो प्रक्रिया सकारात्मक रुपले अघि बढिरहेको नै पायौँ। कहाँ पुग्यो र के भइरहेको छ भन्ने विषयमा प्रधानमन्त्रीज्यूले प्रमुख प्रतिपक्ष दललाई जानकारी गराउनु भयो ।’
उनले टिआरसीसँग सम्बन्धित प्रक्रियाहरू सकारात्मक रुपले नै अघि बढिरहेको आफूहरूले पाएको बताए ।