काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका छन् ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अहिले राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम वाचन गरेका हुन् ।
राष्ट्रपति पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति हस्तान्तरण गरेका थिए । यसअघि राष्ट्रपतिलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेले स्वागत गरेका थिए ।
राष्ट्रपति पौडेललाई संसद् भवन गेटदेखि नेपाली सेनाको ‘रिसल्ला’सहितको राजकीय सम्मानको प्रदान गरिएको थियो । नेपाली सेनाका परामाधिपतिसमेत रहेका राष्ट्रपति पौडेलको सम्मानमा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
बैठकमा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरू, पूर्वसभामुखहरू, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधिलगायतको सहभागिता छ । संयुक्त बैठकको नेपाल टेलिभिजन, रेडियो नेपाललगायत विभिन्न सञ्चामाध्यमले प्रत्यक्ष प्रसारण गरेका छन् ।