काठमाडौँ- अमेरिकाबाट डिपोर्ट भइ भुटानबाट पुनः लखेटिएर नेपाल प्रवेश गरेका चार भुटानी शरणार्थीलाई ‘तत्काल देश निकाला नगर्न’ सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
बिहीबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले उनीहरूलाई वैशाख ११ गते अदालतमा उपस्थित गराउन सरकारलाई आदेश दिएको छ ।
थुनामा रहेका अशोक गुरुङ, सन्तोष दर्जी, रोशन तामाङ र आशिष सुवेदीको तर्फबाट नारायणकुमार सुवेदीले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले उनीहरूलाई तत्काल निष्कासन नगर्न भनेको हो । चारै जना नेपाली मूलका भुटानी नागरिक हुन् ।
पछि संयुक्त राष्ट्रसंघीय पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका पुनर्वास गरिएका उनीहरूलाई अमेरिका सरकारले गएको चैत ११ गते डिपोर्ट गरेको थियो ।
उनीहरुलाई आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा डिपोर्ट गरिएको हो ।