काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख ७ गते पार्टीले निषेधित क्षेत्रमा गएर प्रदर्शन गर्ने बताएका छन् ।
संसदीय समितिले आगामी दिनमा सभा, विरोध, प्रदर्शन र धर्नाका लागि तीनकुने क्षेत्रमा अनुमति नदिन निष्कर्ष निकालेको २४ घण्टा वित्न नपाउदै राप्रपा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।
बिहीबार बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा अध्यक्ष लिङ्देनले पार्टीले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको जानकारी दिएका थिए ।
‘राप्रपा अध्यक्ष लिङ्देनले भने,‘सरकारले नागरिक अधिकारलाई संकुचित बनाउँदै लगेको छ, त्यसको विरुद्ध हामी निषेधित क्षेत्रमै गएर प्रदर्शन गर्ने निर्णय गरेका छौं ।’
वैशाख ७ गतेको कार्यक्रम सभाभन्दा प्रदर्शनको रूपमा अगाडि बढाउने अध्यक्ष लिङ्देनले बताएका छन् ।
पार्टीको विशेष समितिको बैठक बसेर थप कार्यक्रमहरू सार्वजनिक गर्ने उनले जानकारी दिए ।
राप्रपाले वैशाख २० गतेभित्र आफ्ना नेताहरू निःशर्त रिहा नगरे अन्दोलन चर्काउने चेतावनी दिएको छ ।
