काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा उल्टो बुद्धिका शासकका कारण नेपाल विकास निर्माणमा पछाडि परेको बताएका छन्।
शनिवार बाह्रखरी मिडियाले काठमाडौंमा आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्व राजनीतिक इतिहासमा नेपालको स्वाभिमान र गौरवपूर्ण इतिहास भएको जिकिर गरे ।
उनले विश्व सभ्यता र ज्ञानको खोजीमा विगतमा नेपाल अग्रणी भए पनि इतिहासका शासकले लादेको कुसंस्कारका कारण सयौँ वर्ष जहाँको त्यहीँ रोकिनुपरेको बताए।
विगतमा औपनिवेशिक र सामन्ती प्रथाको राजनीतिक व्यवस्थाका कारण अन्धकारमा धकेलिनुपरेको उनको भनाइ छ । उनले इतिहासमा ज्ञान र शिक्षाको शुरुवात महिलाबाटै शुरु भएको तर सामन्ती प्रथाको राज्यसत्ताका कारण महिलालाई पठनपाठनमा रोक लगाएर आधा जनसंख्यालाई चल्नै नसक्ने बनाएको जिकिर गरे ।
प्रधानमन्त्री ओलीले आर्थिक विकासका लागि कृषिलाई आधुनिकीकरण र मेसिनयुक्त बनाउनुपर्ने बताए। गाउँमा रहेका ठूलो संख्याका नागरिकलाई रोजगारी सिर्जना तथा आम्दानी वृद्धिका लागि तालिम र साना लगानीका उद्योगमा सञ्चालनमा प्रोत्साहन गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ ।
उनले वित्तीय संस्थाहरूले किसान तथा उद्यमीहरुलाई गर्ने सहयोगका बारेमा सरकारले नीति निर्माण गरेर सहज बनाउने कार्यमा सरकार लागी परेको बताए ।
उनले देश समृद्ध हुनका लागि नागरिकको खर्चभन्दा आम्दानी बढी हुनुपर्ने र त्यो अवस्था सिर्जना गर्न सरकारले काम गरिरहेको बताए।
प्रधानमन्त्री ओलीले सम्भावनाप्रति आशावादी भएर लाग्नु पर्ने बताए। नेपाल प्राकृतिक, खनिज र विभिन्न स्रोतका हिसाबले सम्भावना भएको मुलुक भएकाले समृद्धिका लागि आशावादी बन्नुपर्ने उनको भनाइ छ ।
उनले सरकारले व्यवसायीहरुको अपेक्षाअनुसार नै सकारात्मक नीति निर्माण गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।