काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको कार्यान्वयनका लागि त्रिभुवन विश्व विद्यालयलाई केन्द्रीय विश्व विद्यालयसहित उत्कृष्ट केन्द्र बनाउन निर्देशन दिनुभएको छ ।

त्रिभुवन विश्वविद्यालय सभाको ४२ औँ साधारण बैठकलाई आज कीर्तिपुरमा सम्बोधन गर्दै उहाँले उच्च शिक्षालाई समयानुकुल बनाउन त्रिविले सोच्नुपर्ने जोड दिनुभयो ।
त्रिविका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री दाहालले प्राज्ञिक संस्थामा अति राजनीतिकरण नगर्न र उचित व्यवस्थापन गर्न आग्रह गर्नुभयो । उहाले चुस्त शैक्षिक वातावरण निर्माणका लागि पहल गर्न निर्देशन दिनुभयो । यस्तै उहाले स्थानीय निर्वाचनको मिति तय भइसकेपछि त्यसलाई प्रतिकूल असर नगर्ने वातावरण सिर्जना गरेर स्ववियु निर्वाचन गराउन पनि आग्रह गर्नुभयो ।
शिक्षामन्त्री एवम् त्रिविका सहकुलपति धनीराम पौडेलले त्रिविको सुधार र विकासका लागि सरकारबाट गर्नुपर्ने सहयोगमा कमी नहुने विश्वास दिलाउँदै विश्व बजारमा स्थान पाउने जनशक्ति उत्पादनमा जोड दिन आग्रह गर्नुभयो ।