झापा- झापाको जलथल जंगलमा भेटिएको मृत जंगली हात्ती सडेगलेको अवस्थामा फेला परेको छ।
बुधबार साँझ कचनकवल– ७ स्थित पाथीभरा सामुदायिक वनमा करिब डेढ महिनाअघि मरेको हुनसक्ने वयस्क भाले हात्ती सडेगलेर दुर्गन्धित अवस्थामा फेला परेको हो।
३–४ वटा जंगली हात्तीले वरिपरि घेरेर राखेपछि बुधबार साँझ कोही पनि जान सकेका थिएनन्।
बिहीबार बिहान डिभिजन वन कार्यालय, इलाका प्रहरी कार्यालय बनियानीलगायतको टोली घटनास्थल पुगेको थियो। त्यहाँ पुगेर हेर्दा शरीरको अधिकांश भाग कुहिसकेको अवस्थामा मृत हात्ती फेला परेको डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकले बताए।
हात्तीको दाराको टुप्पो काटिएको छ। त्यस हात्तीलाई गाडेर अन्त्येष्टि गरिएको कचनकवल ७ का वडा सदस्य शेरबहादुर थेबेले बताए।
झापामा चालु आर्थिक वर्षमा हात्ती मरेको यो पहिलो घटना हो । गत आर्थिक वर्षमा ४ वटा हात्ती मृत फेला परेका थिए।
यस आर्थिक वर्षमा हात्तीको आक्रमण परी झापामा चार जनाको ज्यान गएको छ।