झापा- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको बैचारिक धार भुत्ते भएको बताएका छन्।
शनिबार झापाको बिर्तामोडमा आयोजित नेपाली काँग्रेसमा आस्था राख्ने आप्रवासीहरूको कोशी प्रदेश भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले भुत्ते भएको धारलाई तिखार्न देश दौडाहामा रहेको बताए।
नेपाली कांग्रेस झापाको पार्टी कार्यालयमा आयोजित ‘विदेशदेखि स्वदेशसम्म’ कार्यक्रमको प्रमुख अतिथि रहेका कोइरालाले भुत्ते धारलाई सबैको साथले धारिलो बनाउन सकिने बताए।
उनले भने, ‘नेपाली कांग्रेसको वैचारिक धार जुन छ त्यो अलि भुत्ते भएको छ, खिया लागेको छ। त्यो धारलाई चम्किलो बनाउन प्रयासरत छु, आफू देशव्यापी घुमिरहेको छु।’
नेता कोइरालाले पार्टी भित्र गुट रहेसम्म नेपाली कांग्रेस एक्लै चुनाव लड्न नसक्ने बताए।
‘जहाँ गए पनि साथीहरू भन्नु हुन्छ नेपाली कांग्रेस एक्लै चुनाव लड्नु पर्छ,’ उनले भने, ‘तर गुटबन्दी गरेर त एक्लै चुनाव हुन सक्दैन, लडन् सक्दैन, त्यो गुटबन्दीको अन्त्य त सबभन्दा पहिलो प्राथमिकतामा पर्यो नी हाम्रो।’
गुटबन्दीकै कारण कतिपय इमान्दार कार्यकर्ता पाखा लागिरहेको नेता कोइरालाको भनाइ थियो।
पार्टीले गरेका खराब काममा सबैले खबरदारी गर्न सक्नुपर्ने नेता कोइरालाले बताए। नेपाली कांग्रेस सत्तामा भएको तर सरकारमा नभएको बताए।
सत्ता गठबन्धनका लागि एमाले अध्यक्ष केपीसँग कुरा हुँदा ओली आफैँले एमाले र कांग्रेसको सरकार बन्नु पर्छ र कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्छ भनेर भनेकोसमेत खुलासा गरे। कांग्रेस सबैभन्दा ठूलो दल भए पनि सरकारको नेतृत्वमा नहुनुमा पार्टी सभापति शेरबहादुर देउवाले नै लिन नचाहेको तर्फ संकेत गरे।
नेकपा एमाले नै कांग्रेसको प्रतिष्पर्धी भएको हुँदा सरकारलाई गुण र दोषका आधारमा निरन्तर खबरदारी गरिरहनु पर्ने उनले सुझाए । उनले पालिकास्तरसम्मै एमालेसँग संयन्त्र बनाएर देश चलाउने कुराले पार्टीको अस्तित्व समाप्त पार्ने उनको भनाइ थियो।
नेपाली कांग्रेस १५औँ महाधिवेशनको संघारमा भएकाले प्रत्येक कार्यकर्ताले पार्टी नेतृत्वलाई २०८२ चैत्र मसान्तभित्र महाअधिवेशन सम्पन्न गर्नका लागि खबरदारी गर्नसमेत सभापतिका आकांक्षीसमेत रहेका कोइरालाले आग्रह गरे।
उनले भने, ‘तपाईंहरूले फेसबुकमा २०८२ सालको चैतभित्रमा महाधिवेशन गर्नुपर्छ भनेर लेख्नुस्। अनि हेरौं कसरी गर्दैन नेतृत्वले।’