झापा- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको परिवर्तनमाथि प्रश्न उठाउन खोजिएको बताएका छन्।
सोमवार झापाको कचनकवलमा शुरु भएको जनतासँग माओवादी अभियानको उद्घाटन गर्दै अध्यक्ष दाहालले अहिलेको परिवर्तन त्यत्तिकै नआएको बताएका हुन् ।
उनले हजारौँ वीर शहीदहरूको रगत र पसिनाबाट अहिलेको परिवर्तन सम्भव भएको बताए। माओवादीले ल्याएको अहिलेको परिवर्तनमाथि प्रश्न उठाउने गरिएको भन्दै उनले आपत्ति जनाए।
उनले भने, ‘अहिलेको परिवर्तन त्यत्तिकै पाइएको होइन । तपाईं हाम्रा हजारौँ वीर छोराछोरीहरुले रगतको मूल्य तिरेर मात्रै देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको हो । यो संघीय लोकतान्त्रिक गणतन्त्रप्रति दलालहरुले तपाईं हामी जनतालाई माया गरेर हामीलाई दिएको परिवर्तन होइन । तपाईं हामीले रगत बगाएर त्याग, तपस्या गरेर वीरतार बलिदानका धेरै कीर्तिमानहरु कहिल्यै नमेटिने गरी तयार पारिएका बलमा मात्रै यो परिवर्तन सम्भव भएको हो । अहिले यो परिवर्तनमाथि प्रश्न उठाउन खोजिएको छ । अहिलेको संविधानमा एकथरी मान्छेहरूले त्यसको प्रश्तावनादेखि अन्त्यसम्म माओवादीको छाप देख्छन् ।’
अध्यक्ष दाहालले एकथरीले प्राप्त उपलब्धि खोस्न संविधानमाथि आक्रमण गर्ने गरेको बताए।