तेह्रथुम । प्रधानमन्त्री पुष्पकमल दाहाल आगालागी पीडितहरुको अवस्था अवलोकन गर्न तेह्रथुमको संक्रान्ति बजारमा पुग्नुभएको छ ।

मंगलबार तेह्रथुमको आठराई क्षेत्रमा पर्ने संक्रान्ति बजारमा पुग्नुभएका प्रधानमन्त्रीले त्यहाँको अवस्था अवलोकन गरि संक्रान्ति बजारका अग्नीपीडितको सहयोगका लागि एक करोड रुपैंयासहितको विशेष राहत प्याकेज घोषणा गर्नु भएको छ ।
गत पुस १ गते संक्रान्तिकै दिन संक्रान्ति बजारमा आगो लागेको थियो । आगलागीबाट ३२ घर जलेर नष्ट हुँदा ३२ घरपरिवारका साथै २७ परिवार डेरावालहरु प्रभावित भएका थिए ।
अग्नो पीडितलाई संवोधन गर्दै प्रधानमन्त्री दहालले भन्नु भयो, ‘प्रधानमन्त्रीको नेतृत्वमा रहेको केन्द्रीय दैवीप्रकोप कोषबाट संक्रान्ति बजारका अग्निपीडितका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गर्दछु।’
प्रधानमन्त्री दहालले पीडितको लागि बिनाधितो न्यूनतम व्याजदरमा ऋण उपलब्ध गराउने, त्यस क्षेत्रका लागि दमकलको व्यवस्था गर्ने, खानेपानी समस्या समाधानका खानेपानी आयोजना सञ्चालन गर्ने जस्ता प्रतिबद्धताहरु समेत व्यक्त गर्नुभएको छ ।