झापा- झापाको बिर्तामोडमा रहेको अग्रसेन भवन नजिकै गायत्री माताको मन्दिर स्थापना गरिएको छ।
२ करोड ५० लाख रुपैयाँको लागतमा गायत्री माता मन्दिर स्थापना भएको हो। युवा उद्यमी रोनक बंशलको अगुवाइमा गायत्री माताको मन्दिर स्थापना भएको हो।
उक्त मन्दिरको प्राण प्रतिष्ठाका अवसरमा पाँच दिने कार्यक्रम आयोजना गरिने बिहीबार मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा बंशलले जानकारी दिए।
माघ १७ गते प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेको उपस्थितिमा कलशयात्रा गरिने र माघ २१ गते मन्दिरको प्राण प्रतिष्ठा गरिने उनले बताए।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको हातबाट प्राण प्रतिष्ठा गर्ने कार्यक्रम तय भएको उनले जानकारी दिए।
अनुष्ठानकै क्रममा माघ २० गते नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्यको प्रवचन कार्यक्रम राखिएको उनले बताए।
यसका अतिरिक्त प्रत्येक दिन भजन किर्तन र महाप्रसाद वितरणको कार्यक्रम राखिएको बंशलले बताए।
उक्त मन्दिर स्थापना गर्न प्रदेश सरकारबाट ४० लाख रुपैयाँ र बिर्तामोड नगरपालिकाबाट १५ लाख रुपैयाँ प्राप्त भएको उनले जानकारी दिए। अन्य लागत खर्च दाताहरूले उपलब्ध गराएको उनले बताए।
कार्यक्रम संयोजक बंशलका अनुसार बिर्तामोडमा निर्मित यो झापाको चौथो गायत्री मन्दिर हो।
यसअघि भद्रपुर, अर्जुनधारा र कनकाईमा गायत्री मन्दिर स्थापना भएको छ।
बैदिक सनातन धर्मका अनुसार गायत्री मातालाई पार्वती, सरस्वती र लक्ष्मीको अवतारका रुपमा लिने गरिन्छ ।