काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितलाई तिलाञ्जली दिएर सत्तामा जाने काममा एमाले नलाग्ने बताएका छन्।
सोमवार काठमाडौंमा नेकपा (एमाले) परराष्ट्र मामिला विभागद्वारा आयोजित ‘नेपालमा परराष्ट्र नीतिबारे संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले आफ्नो भूअवस्थालाई नबिर्सिएको र भूराजनीतिका नाममा सत्ता स्वार्थमा जाने, सत्ता प्राप्ति वा सत्तामा रहनका लागि जेसुकै पनि निर्णय गर्ने काम एमालेले नगर्ने बताए ।
उनले राष्ट्रिय हितलाई तिलाञ्जली दिन तयार हुने जस्ता स्तरहीन, अनैतिक कामहरु एमालेले नगर्ने बताए । उनले भूराजनीतिलाई अपजस लगाउनु भनेको आफ्नो कायरतालाई लुकाउने काम मात्रै भएको बताए। उनले राष्ट्रिय हितमा अडान लिन सक्नुपर्ने बताए ।
भूराजनीति भनेको सावधानी, सन्तुलित र दृढताका साथ राष्ट्रिय हितको रक्षा गर्न चनाखो हुनु रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो।
प्रधानमन्त्री ओलीले नेपालले आफ्ना छिमेकी मित्र राष्ट्रहरुसँग खुलस्त मित्रतापूर्ण ढंगले आफ्ना तर्क राख्नुपर्ने बताए।