झापा- झापाको बिर्तामोडमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा पोषणविद् (डाइटिसियन) र छाती तथा फोक्सोरोगको विशेषज्ञ सेवा सुरु हुँदैछ।
पोषण (डाइट) सेवा यही माघ ६ गतेबाट र छाती तथा फोक्सोरोगको विशेषज्ञ सेवा यही माघ ७ गतेबाट सुरु हुने अस्पतालका प्रमुख कार्यकारी अधिकृत रोमनी भट्टराईले जानकारी दिए।
पोषणविद् रोजिना चौहानले यही माघ ६ गतेबाट मनमोहन अस्पतालमा सेवा दिन लागेकी हुन्। पोषण विषयमा स्नातकोत्तर उत्तीर्णपश्चात उनी पोषणविद् बनेकी हुन्। अस्पतालमा अत्यन्तै न्यून शुल्कमा उनले सेवा दिन लागेकी हुन्।
खासगरी अस्पतालमा भर्ना भएका बिरामीलाई स्वस्थकर खाना प्रदान गर्ने, विभिन्न रोगका बिरामीलाई खाना सम्बन्धी परामर्श दिने तथा अस्वस्थकर खानाका कारण विभिन्न रोगको जोखिमलाई न्यूनीकरण गर्नका लागि पोषणविद्को सल्लाह तथा सुझाव जरुरी रहने चौहानले जानकारी दिइन्।
त्यस्तै अस्पतालले माघ ७ गतेबाट छाती तथा फोक्सोरोगका वरिष्ठ विशेषज्ञ डा. विनय वस्तीको सेवा सञ्चालन गर्ने भएको छ। माघ ७ गते निशुल्क ओपीडी सेवा सञ्चालन गरिने डा. वस्तीले जानकारी दिए।
उनले भने, ‘फोक्सोरोगको अवस्था जटिल भइरहेको अवस्थामा हामीले मनमोहन अस्पतालमा सेवा दिन लागेका हौं।’
झापामा पोषणविद् र फोक्सोरोग सम्बन्धी विशेषज्ञ सेवा नभइरहेको अवस्थामा सर्वसाधारणले लाभ लिनसक्ने अस्पतालले जनाएको छ।
