झापा- घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटी कारागार चलान भएका छन्।
झापा जिल्ला अदालतले सोमबार उनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो।
सोमबार भएको थुनछेक बहसपछि न्यायाधीश नवीनकुमार जोशीको इजलासले शिवाकोटीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको अदालतका स्रेस्तेदार किरणकुमार सिंहले जानकारी दिए।
शिवाकोटीको स्वास्थ्य अबस्थालाई ख्याल गरी स्वास्थ्य उपचारको व्यवस्था गर्न न्यायाधीशको आदेशअनुसार झापा कारागार प्रशासनलाई पत्र पठाइएको सिंहले बताए।
आइतबार शिवाकोटीसँग बयान लिइएको थियो। शिवाकोटीको पक्षमा अशोक पोखरेल, गजेन्द्र आचार्य, टंक उप्रेती, बालकुमार कट्वाललगायतका कानुन व्यवसायीहरूले बहस गरेका थिए।
घरेलु कामदारको रूपमा राखिएकी नाबालिकालाई करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ परेकै दिनदेखि बीएण्डसी अस्पतालमा राखेको थियो।
प्रहरीले उनलाई गत मंसिर २४ गते पक्राउ गरेको थियो।
