झापा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सम्पत्ति शुद्धीकरणको हतियारले अब ठूला दलका कोही नजोगिने बताएका छन् ।
राप्रपा कोशी प्रदेश समितिले शनिबार इटहरीमा आयोजना गरेको बृहत् विरोध सभामा अध्यक्ष लिङ्देनले भने, ‘रास्वपा सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको हतियार चलेको छ, अब दाप बाहिर आइसकेको यो हतियार रोकिने छैन र रोकिन पनि हुँदैन ।’
उनले नेपालका सबै नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने भन्दै सुरुमा राप्रपा नेताहरूबाट छानबिन गर्न तयार रहेको बताए । अहिलेको व्यवस्थाले भ्रष्टाचारलाई झन्झन् संरक्षण गरेको भन्दै देशको लागि राजासहितको प्रजातन्त्र र हिन्दू राष्ट्र अपरिहार्य रहेकोमा जोड दिए ।
विरोध सभामा राप्रपाको निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व र कार्यशैलीका कारण प्रजातन्त्र खतरामा परेको दाबी गरे । उनले प्रजातान्त्रिक दलहरूको नाममा प्रजातन्त्र मास्ने काम भएको बताए ।
डा. लोहनीले केपी ओली, शेरबहादुर देउवा र प्रचण्डसँग कुनै भ्रष्टाचार गरेको छैन, नेपाल बाहिर कुनै पैसा राखेको छैन भनेर नेपालको संसदमा उभिएर नेपाली जनतालाई भन्ने नैतिक हिम्मत नभएको बताए । जनताले अहिले विकल्पको खोजी गरेको उनको दाबी थियो ।