झापा- छँदाछँदैको साइलेन्सरलाई परिवर्तन गरेर ठूलो आवाज आउने बनाएका केही मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
झापाको बिर्तामोडमा साइलेन्सर परिवर्तन गरी ठूलो आवाजमा ‘फायरिङ’ गर्दै कुदाउने ७ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त टोलीले साइलेन्सर परिवर्तन गरी ठूलो आवाजका साथ ध्वनी प्रदूषण गर्ने ७ वटा मोटरसाइकललाई दुई दिनमा नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
नियन्त्रणमा लिइएका मोटरसाइकलहरुमा बुलेट, एनएस, बेनेली, ड्युक, पल्सरलगायत रहेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले एक महिनामा त्यस किसिमका ३० वटा मोटरसाइकललाई नियन्त्रणमा लिई कारबाही गरिएको बताए ।
लापरवाही तरिकाले ध्वनी प्रदूषण गरी चलाएका मोटरसाइकललाई नियन्त्रणमा लिई कारबाही र जरिवाना गरिएको उनले जानकारी दिए ।
साइलेन्सर बिगारेर चलाइएका ती मोटरसाइकलको साइलेन्सर निकालिएको छ । फेरि पनि त्यसरी नै चलाए यातायात व्यवस्था कार्यालयमा कारबाहीका लागि पठाउने पौडेलले बताए ।
दिउँसोभन्दा रातिको समयमा गोलीको जस्तो ठूलो आवाजका साथ फाइरिङ गर्दै मोटरसाइकल कुदाउँदा बिर्तामोडबासी आतंकित भएका छन् । एकपछि अर्कोको सिको गर्दै युवाले त्यसरी मोटरसाइकल कुदाउन थालेका छन् ।
तीब्र गतिमा फाइरिङ गर्दै कुदाउने युवालाई नियन्त्रणमा लिन प्रहरी टोली नै परिचालन गरिएको छ ।
मानिसहरु राति सुत्ने बेलामा आगोको झिल्का निकालेर ठूलो आवाजका साथ फाइरिङ गर्दै मोटरसाइकल चलाउने गरेको पाइएको छ । प्रहरीले त्यस किसिमको मोटरसाइकल नियन्त्रणमा लिने अभियानलाई जारी राखेको प्रहरी निरीक्षक पौडेलको भनाइ छ ।
