काठमाडौं । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले उच्च मनोबलका साथ निर्भिक भई सीमा सुरक्षालाई उच्च प्राथमिकता दिएर काम गर्न सुरक्षाकर्मीहरुलाई निर्देशन दिनु भएको छ ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवाको नवनिर्मित भवनको आज उदघाटन गर्दै गृहमन्त्री निधिले उच्च मनोबलका साथ निर्भिक भएर सीमा सुरक्षा लगायत अपराध नियन्त्रणमा काम गर्न निर्देशन दिनु भएको हो । तीनवटै सुरक्षा निकायका प्रमुखका साथ रसुवा सदरमुकाम धुन्चे पुग्नु भएका उहाँले सीमा सुरक्षा राष्ट्रभक्ति र देशभक्तको प्रतिक भएको उल्लेख गर्नुभयो ।
त्यसक्रममा मन्त्री निधिले सरकारले संसदमा दर्ता गराएको संबिधान संशोधन बिधेयक टेबुल गर्न नदिएर मुख्य बिपक्षी दल एमालेले संसदीय प्रकृयाको खिलापमा काम गरेको बताउनु भयो । उहाँले एमाले नेताहरुसंग बार्ता भइरहेको बताउँदै कुनै निकास निस्कनेमा आफू आशाबादी भएको उल्लेख गर्नुभयो ।
आजै मन्त्री निधिले कार्यालय प्रमुखहरुसंगको भेटमा स्थानीय निकायको निर्बाचनको घोषणा जुनसुकै बेला हुन सक्ने भन्दै त्यसका लागि तयार रहन निर्देशन दिनुभयो ।