काठमाडौँ- कास्की प्रहरीको हिरासतभित्र रास्वपा सभापति रवि लामिछाने सुतिरहेको तस्विर उनकै समर्थक डा.निकोलस भुसालले खिचेको खुलासा भएको छ ।
लामिछानेका समर्थक भुसालले सामाजिक सञ्जालमा भाइरल भइरहेको रवि लामिछानेको फोटो आफूले खिचेको बताएका हुन् । यसमा कुनै खराब नियत नभएको भन्दै उनले गल्ती महसुस गर्दै माफी मागेका छन् ।
भुसालले दुई दिन अघि नै यो फोटो फेसबुकमा राखेर पछि डिलिट गरेका थिए । रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले त्यो फोटो फेसबुकमा राखेपछि अहिले भाइरल भइरहेको छ ।
भुसालले त्यो फोटो प्रहरीले सार्वजनिक नगरेको भन्दै फेसबुकमा लेखेका छन्, ‘यो पुलिसले ल्याएको होइन, म दोषी छु यसमा । मैले यो फोटो बाहिर ल्याएको हुँ । यसवाफत नेपाल नेपाल प्रहरी र नेपाल सरकारसँग माफी माग्न चाहन्छु ।’
भुसालले आफू रविको स्वास्थ्य जाँचका लागि हिरासतमा गएको र त्यही बेला प्रहरीकै सामुन्ने फोटो खिचेको बताएका छन् । रविको स्वास्थ्य ठिक छ भन्ने देखाउनका लागि पनि फोटो खिचेको उनको भनाइ छ ।
यसैबीच गृहमन्त्री रमेश लेखकले रविको फोटो खिचेर सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बिहीबार गृहमन्त्री लेखकले प्रहरी प्रमुख वसन्त बहादुर कुँवरलाई उक्त विषयमा छानबिन गरी दोषी जो सुकै भएपनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।