झापा- मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पतालको सञ्चालक संस्था पूर्वाञ्चल स्वास्थ्य सहकारी संस्था लिमिटेडको १२ बार्षिक साधारण सभाले अस्पताललाई तीन विधामा उत्कृष्ट बनाउने लक्ष्यका साथ काम गर्ने निर्णय गरेको छ।
‘सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा, उत्कृष्ट संस्था बनाउने हाम्रो प्रतिवद्धता’ भन्ने नारासहित झापाको बिर्तामोडमा शनिवार आयोजना गरिएको साधारण सभाले अस्पताल सेवा, शैक्षिक कार्यक्रम तथा खोज-अनुसन्धान केन्द्र (रिसर्च सेन्टर)लाई केन्द्रमा राखेर अघि बढ्ने निर्णय गरेको हो।
मनमोहन अस्पतालको पाँच तले अत्याधुनिक भवन ९२ करोड रुपैयाँको लागतमा आगामी तीन बर्षभित्र निर्माण गर्ने सभाले निर्णय गरेको छ। जस्का लागि शेयर पुँजी बढाउने, ऋण लिने तथा अनुदानको प्रयास गरिने निर्णय भएको समितिका सदस्य सचिव रोमनी भट्टराईले जानकारी दिए। मनमोहन अस्पतालमा अहिले भइरहेका सेवाका साथै अन्य सेवाहरू पनि थप्दै लैजाने सभाले निर्णय गरेको छ।
हाल एक सय बेड क्षमता रहेको अस्पताललाई भवन निर्माण भएपश्चात दुई सय बेड भन्दा बढीको क्षमतामा लैजाने र हाल सञ्चालनमा रहेको सिटी स्क्यान सेवामा आधारित सेवाहरू विस्तार गर्दै लगिने सभाको निर्णय छ। पेटरोग सम्बन्धी सेवा पनि चाँडै विस्तार गरिने सभाले निर्णय गरेको छ।
अस्पतालका संस्थापक शेयर सदस्य तथा वरिष्ठ चिकित्सक डा. विनय वस्तीले फोक्सोका रोगीहरूका लागि पाल्मोनोलोजी सेवा आवश्यक भइसकेको जानकारी दिए।
त्यसैगरी यसै शैक्षिक बर्षदेखि सुरु गरिएको एचए, स्टाफ नर्स तथा डिप्लोमा इन फार्मेसीको शैक्षिक कार्यक्रम गुणस्तरीय बनाउँदै मनमोहन मेमोरियल पूर्वाञ्चल कलेजलाई नमूना कलेजका रुपमा विकास गरिने निर्णय भएको सदस्य सचिव भट्टराईले बताए। साथै, अस्पताल आफ्नै भवनमा सरेपछि अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गरिने लक्ष्य संस्थाले राखेको उनले बताए।
त्यसैगरी संस्थाको मातहतमा अनुसन्धान केन्द्र (रिसर्च सेन्टर) स्थापनाका लागि पहल गरिने भट्टराईको भनाइ छ। उनले नै अस्पतालको विकासका लागि पाँच बर्षे रणनीति सभामा प्रस्तुत गरेका थिए। सभामा आर्थिक प्रतिवेदन कोषाध्यक्ष तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईं तथा लेखा प्रतिवेदन लेखा सुपरिवेक्षण समितिका संयोजक टंक विश्वकर्माले प्रस्तुत गरेका थिए।
नेपाल स्वास्थ्य सेवा सहकारी संस्था नेको नेपाल विभाजन भएर २९४ जना शेयर सदस्य पूर्वाञ्चल स्वास्थ्य सहकारी संस्थामा आवद्ध भएका छन्। अहिले पूर्वाञ्चल स्वास्थ्य सहकारीमा जम्मा ३८८ जना शेयर सदस्य पुगेका छन्। संस्थाको शेयर पुँजी ७ करोड ९३ लाख ४६ हजार पुगेको छ।
पूर्वाञ्चल स्वास्थ्य सहकारीको स्थापनाका बेला ७९ जना शेयर सदस्य रहेका थिए। अहिलेको सहकारीहरूको विकराल आर्थिक अवस्थाका बेला पनि पूर्वाञ्चल स्वास्थ्य सहकारीले शेयर सदस्यहरूलाई १८ प्रतिशत लाभांश बितरण गरेको छ।
अध्यक्षमा पुनः खरेल

संस्थाको १२ औं बार्षिक साधारण सभाले अध्यक्षमा पुनः संस्थाका संस्थापक अध्यक्ष नरेश खरेललाई चयन गरेको छ।
संस्थाको उपाध्यक्षमा पवित्रा महतारा प्रसाईं र रविन कोइराला, कोषाध्यक्षमा बुद्धिराम भट्टराई, लेखा सुपरिवेक्षण समितिको संयोजकमा टंक विश्वकर्मा, सदस्यहरूमा तुलसीप्रसाद भण्डारी र राजेन्द्रप्रसाद लिङ्देन चयन भएका छन्।
सदस्यहरूमा कुलप्रसाद खरेल, चन्द्रमाया श्रेष्ठ, खगेन्द्र इङनाम, धनराज योङहाङ, हरिचरण शिवाकोटी, राजेन्द्रकुमार बस्नेत, श्यामकुमार ढकाल, निलमणि बराल, डम्बरबहादुर बस्नेत, भोलादेवी भट्टराई र ललिता बस्नेत चयन भएका छन्। संस्थाको सदस्य सचिवमा कार्यकारी प्रमुख रहने विधानमा व्यवस्था भएबमोजिम रोमनी भट्टराईले उक्त जिम्मेवारी बहन गर्नेछन्।
समितिमा संस्थाका सम्मानित व्यक्तिहरू रहेकाले उपसमिति बनाउँदा काम गर्ने क्षमता भएका युवा शक्तिलाई ल्याइने संस्थाका नवनिर्वाचित कोषाध्यक्ष बुद्धिराम भट्टराईले बताए।
नयाँ कार्यसमितिको कार्यकाल चार बर्षको हुनेछ। नयाँ कार्यसमिति चयन हुन अघि भएको औपचारिक कार्यक्रममा संविधान सभा सदस्यहरू केदार सन्जेल र सुधीरकुमार शिवाकोटी, कतारका लागि पूर्व राजदूत नारद भारद्वाज तथा मनमोहन अस्पतालका मेडिकल डाइरेक्टर डा. एकराज गौतमले शुभकामना मन्तव्य राखेका थिए। संस्थाका उपाध्यक्ष रविन कोइरालाले स्वागत गरेको कार्यक्रम सदस्य सचिव रोमनी भट्टराईले सञ्चालन गरेका थिए।
