झापा- जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले गौहत्याजस्तो संवेदनशील विषयमा राज्यपक्ष उदासीन भएको आरोप लगाएका छन्।
‘पछिल्लोपटक झापाको कन्काई र अर्जुनधारा नगरपालिकामा गाईको हत्या भएको घटनाले हिन्दू धर्ममाथि चारैतिरबाट आक्रमण भइरहेको पुष्टि भएको छ,’ चतराधामका पिठाधीशसमेत रहेका बालसन्त मोहनशरणले भने, ‘हिन्दु सनातनी धर्मालम्बीहरूले आमा समान मानेकी गाईको हत्या र अवैध ओसारपसार गरिन्छ भने यस्ता अपराधपूर्ण घटना हिन्दु धर्मालम्बीहरुलाई मान्य हुने छैन ।’
अपराधपूर्ण घटनामा संलग्न हत्यारा र मतियारलाई संसारभरका हिन्दु एक भएर ठेगान लगाउने उनले चेतावनी दिए ।
झापाको सताक्षीधाममा सोमबारदेखि सुरु भएको गोरक्षा महोत्सवको उद्घाटन गर्दै उनले भने, ‘गौहत्याको घटनालाई सरकारले सामान्य रूपमा नलियोस् । धर्मगुरु सडकमा आउनुपर्यो भने त्यसको मूल्य निकै ठूलो गरी सरकारले चुकाउनु पर्ने छ ।’
त्यो मूल्य चानचुने पनि नहुने उनले चेतावनी दिए । गौहत्याको विषयमा आफू गम्भीर र भावुक भएको उनले बताए ।
‘सरकारले गौहत्यामा संलग्न भएका व्यक्तिलाई पक्राउ गरेर कारबाहीको प्रक्रिया अघि बढाएको छ । यसले थोरै भएपनि हामी हिन्दु धर्मावलम्बीहरूलाई आशा र भरोसा दियो । गौहत्यामा संलग्न अपराधीलाई हदैसम्मको कानुनी कारबाही हुनेछ भन्ने हामीले विश्वास लिएका छौं,’ उनले भने ।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा (रोशन)ले गोलोक गोवर्धन गौशाला सताक्षीधाममा स्थापना भएपछि यो क्षेत्र धार्मिक व्यक्ति र सन्त महात्माहरुका लागि पहिलो रोजाई र पर्यटकीय हिसाबले पनि आकर्षक गन्तव्य बनेको बताए ।
उनले भने, ‘गौशालामा गाईको सेवा गर्न आएका नेपाललगायत विश्वका कयौँ मुलुकका धार्मिक व्यक्तित्व, धर्मगुरु, सन्त महात्माहरूको आगमनले सताक्षीधामको शान थपिएको छ ।
शिवसताक्षी नगरपालिकाले गोरक्षा महोत्सव भव्य रूपमा सफल पार्नको लागि एक दिन सार्वजनिक बिदा दिएर अदृश्य योगदान गरेको बताए ।