झापा – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको प्रधानमन्त्री जहाँ गए पनि मुर्दावादको नारा लाग्न थालेकाले अब राप्रपाको विकल्प नभएको बताएका छन्।
दुई ठूला दलका नेताहरू चाहेको ठाउँमा जान नसकेको अवस्थामा राप्रपा मात्र अबको विकल्प भएको उनले बताए। २०८४ सालको निर्वाचनमा राप्रपा पहिलो शक्ति बन्नुपर्ने उनले बताए।
झापाको बिर्तामोडमा आइतबार बिर्तामोड नगर अधिवेशन उद्घाटन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले सके ०८४ अघि नै सत्ता परिवर्तन गर्ने, नभए ०८४ सालको निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउन अहिलेदेखि नै काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।
उनले भने, ‘उनीहरू जहाँ जान्छन्, त्यहाँ विरोध धेरै छ। मुर्दावादको नारा लाग्छ। ठूला दलको हालत त्यस्तो छ। अब हामी नै विकल्प हौँ।’
उनले राप्रपामा देशभर समर्थन आइरहेको बताउँदै आफ्नो शक्ति चिन्न पार्टीका कार्यकर्तालाई निर्देशन दिए।
उनले भने, ‘देशका जुनसुकै स्थानमा राप्रपाप्रति समर्थन आइरहेको छ। तर, हाम्रै साथीहरूले आफ्नो शक्ति चिन्दैनन्। अब २०८४ सालको चुनावमा हाम्रो पार्टी पहिलो शक्तिमा आउनै पर्छ। त्यसको विकल्प नै छैन। त्यही मिसन लिएर काम गर्नुहोस्।’