झापा- तीब्र गतिका कारण भइरहेको बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्न आजदेखि झापासहित पूर्वका तीन जिल्लामा टाइमकार्ड लागू भएको छ।
आज बिहान मेचीनगरको काँकडभिट्टामा एक कार्यक्रममार्फत झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले टाइमकार्डको शुभारम्भ गरेका हुन्। मध्यम दूरीका सार्वजनिक सवारीसाधनलाई लक्षित गरी झापा, मोरङ र सुनसरी जिल्लामा टाइमकार्ड लागू गरिएको हो।
मध्यम दूरीका सार्वजनिक सवारीसाधनलाई टाइमकार्ड लागू हुने र अन्य सवारीसाधनलाई छड्के जाँच गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले बताए।
तोकिएको समयअनुसार चलाए नचलाएको जाँच गर्न पूर्वबाट जाने सवारीसाधनलाई झापाका तीन ठाउँमा चेकिङ हुने भएको छ। पूर्वबाट जाने सवारीसाधनहरुका लागि काँकडभिट्टा, बिर्तामोड र केर्खामा चेकिङ हुन्छ भने पश्चिमबाट आउनेहरुका लागि दमकको तारावारी, लक्ष्मीपुर र काँकडभिट्टामा चेकिङ हुने प्रहरी निरीक्षक पौडेलले बताए ।
टाइमकार्डअनुसार काँकडभिट्टादेखि बिर्तामोडसम्मको १७ किलोमिटर दूरीका लागि ३० मिनेट तोकिएको छ ।
त्यस्तै बिर्तामोडदेखि केर्खासम्मको २९ किलोमिटर दूरीका लागि ५१ मिनेट तोकिएको छ ।
झापामा केही समयदेखि अत्यधिक सवारी दुर्घटना हुने गरेको छ । गत कात्तिक महिनामा १४ जनाले दुर्घटनामा ज्यान गुमाएका थिए । यसअघि २०७६ सालमा पनि झापामा टाइमकार्ड लागु भएको थियो । तर, त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिएको थिएन ।