झापा- झापाको सताक्षीधाममा शतबीज छर्न आएकी एक महिलाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार कनकाई नगरपालिका ४ बस्ने अन्दाजी वर्ष ४५/५०को जस्तो देखिने सरिता टुडूको मृत्यु भएको हो। उनको मृत्युको कारण खुल्न सकेको छैन।
प्रहरीले दिउँसो पौने १२ बजे सिकिस्त अवस्थामा फेला पारेको थियो। उनी सताक्षीधाममा शतबीज छर्न आएको बताइएको छ। पितृहरूको नाममा शतबीज छरिसकेपछि उनले भुइँमा प्लास्टिक ओछ्याएर सहयोग मागिरहेकी थिइन् ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार दाताले केही नगद र अन्नपात सहयोग दिइरहेका थिए । प्रत्यक्षदर्शीका अनुसार सहयोग माग्दा माग्दै उनी एक्कासी ढलेकी थिइन्।
भुइँमा ढलेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर, डाक्टरले मृत घोषणा गरेको बताइएको छ ।
ढलेको देखेपछि निकै ठूलो भीड लागेको थियो। भीडकै कारण उनले समयमा उपचार नपाएको बताइएको छ । ढलेको ठाउँदेखि अस्पतालसम्म जाने यातायातका साधन नहुँदा समयमै अस्पताल पुर्याउन नसकिएको एक रेडक्रसकर्मीले बताए ।